साङ्गीतिक कार्यक्रमका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाल बिरामी परेकी छन्। उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ ल्याइएको छ।
अहिले उनको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। अस्पताल स्रोतले अहिले जाँचको काम चलिरहेको र रिपोर्ट केही समयपछि आउने बताएको छ।
रुकुम पश्चिमको सानीभेरीस्थित बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन रिमाल सोमबार बेलुका त्यहाँ पुगेकी थिइन्। तर, मङ्गलवार बिहान उनी एक्कासि बिरामी परेकी आयोजकले जनाएका छन्।
सुरूमा रचनालाई चौरजहारीस्थित मिसन अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। त्यसपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको हो।
रचना केही दिनदेखि कर्णालीका विभिन्न जिल्लामा भइरहेका साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्। रुकुम जानुअघि रचनाले सुर्खेतमा प्रस्तुति दिएकी थिइन् भने त्यसअघि उनले मुगु पुगेकी थिइन्।