झापा। धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले प्रत्येक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार यस वर्ष डा. सुजना धिमाललाई प्रदान गर्ने भएको छ। पुरस्कार छानोट समितिको सोमबार धिमाल परियोजना स्थल, मंगलबारेमा बसेको बैठकले डा. धिमाललाई सम्मान गर्ने निर्णय गरेको समितिका संयोजक अजितकुमार धिमालले जानकारी दिए।
दमक-२, खरखरे निवासी डा. सुजना धिमालले गण्डकी मेडिकल कलेज, पोखराबाट ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) उत्तीर्ण गर्नुभएको छ। मोरङ, झापा र सुनसरी जिल्लामा बसोबास गर्ने धिमाल समुदायबाट एमबिबिएस उत्तीर्ण गरी चिकित्सक बन्न सफल हुने पहिलो व्यक्ति भएकाले उहाँको प्रतिभालाई कदर गर्दै धिमाल प्रतिभा पुरस्कार २०८२ बाट सम्मान गर्ने निर्णय गरिएको संयोजक धिमालले बताए।
महासचिव मातृका धिमालका अनुसार, प्रत्येक वर्ष असार २ गते जातिरीरसिरिजात पर्व समापनका अवसरमा आयोजना गरिने कार्यक्रममा एक जना युवा प्रतिभालाई यो पुरस्कार प्रदान गरिँदै आएको छ। युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको पुरस्कारमा नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र आल्गी धावा ओढाएर सम्मान गरिन्छ।
यसअघि बडिबिल्डर विकास धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, फुटबलर रजिन धिमाल, तेक्वान्दो खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाल र नृत्यङ्गना सरस्वती धिमाललाई यो पुरस्कार प्रदान गरिएको थियो।