मोरङको धनपालथानमा १ जना भारतीय नागरिक मृत फेला परेका छन्। ससुराली आएका भारतीय नागरिकको शव धनपालथान गाउँपालिका–३ बेतौनामा भेटिएको हो। 

प्रहरीका अनुसार भारतको अररिया घर भएका ५५ वर्षीय राजेश्वर बहरदार हुलाकी सडकखण्डको पेटीमा मृत फेला परेका हुन्। स्थानीयले आइतबार दिउँसो मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेको थियो। मृत फेला परेका बहरदार धनपालथानस्थित ससुराली आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

उनको मृत्युको कारण प्रष्ट भइसकेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको हो।