अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस सहरमा गैरकानुनी आप्रवासीहरूलाई लक्षित गर्दै गरिएको सरकारी छापामारीपछि स्थानीय प्रदर्शन चर्किएको छ। सङ्घीय आप्रवासन तथा भन्सार प्रवर्तन विभागको कारबाहीको विरोधमा तीन दिनदेखि व्यापक प्रदर्शन जारी छ।
प्रदर्शनकारीहरू विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले तैनाथ गरेका राष्ट्रिय गार्डले बल प्रयोग गरेपछि स्थिति थप तनावग्रस्त भएको छ। अश्रुग्यास प्रयोग गरी प्रदर्शनकारीहरूलाई हटाउने प्रयास भइरहेको छ।
लस एन्जलसको मुख्य १०१ फ्रिउवे मार्ग अवरुद्ध गरेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो। ट्रम्पले आफ्नो निर्णयको बचाउ गर्दै कानुन र व्यवस्थाको पुनः स्थापनाको लागि यो कदम आवश्यक रहेको बताएका छन्। तर, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले सङ्घीय सैनिक हटाउन माग गरेका छन्। उनले ट्रम्पको कदमलाई ‘शक्तिको दुरुपयोग’ को संज्ञा दिएका छन्।
शुक्रवारदेखि सुरु भएको प्रदर्शन शनिवार र आइतबार हिंसात्मक बन्दै गएको छ। दर्जनौँ प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ भने केही प्रहरी अधिकारीसमेत घाइते भएका छन्।
यता, लस एन्जलसमा रहेको एक आप्रवासी हिरासत केन्द्र नजिकै राष्ट्रिय गार्डका सैनिकहरूको बाक्लो उपस्थिति देखिएको छ। हालसम्म २९ जना प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ।
स्थिति नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरूले थप सतर्कता अपनाएको जनाइएको छ। तर, मानवअधिकारवादी समूहहरू र स्थानीय समुदायले सङ्घीय कदमलाई अनावश्यक र भड्काउने प्रकृतिको भन्दै विरोध जारी राखेका छन्।