कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनका विशेष प्रतिनिधि डयानियल गुस्टाफसन वीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालको प्रमुख विकास साझेदारका रूपमा एफएओले काम गरेको र सन् २०१५ पछि नेपालको विकास एजेण्डामा पोषण र खाद्य सुरक्षालाई मुलप्रवाहीकरणमा ल्याउनका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए।
नेपालको कृषि क्षेत्रको विकासका लागि एफएओद्धारा सञ्चालित परियोजनाहरू मार्फत खाद्य र पोषण सुरक्षा ,दिगो प्राकृतिक स्रोतको व्यवस्थापन, जलवायु उत्थानशीलताको निर्माण, आपलकालीन अवस्थाको तयारी एवं ग्रामीण महिलाहरूको आर्थिक उत्थान र सबलीकरणमा योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
मन्त्री अधिकारीले एफएओको प्राविधिक विज्ञता र अनुभवलाई नयाँ कार्यक्रममार्फत कृषकसम्म सुरक्षित, पर्यावरणमैत्री र विज्ञानमा आधारित ज्ञान पुर्याउने दिशामा सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए।
उनले नेपालबाट उत्पादन हुने कृषि उत्पादनहरूको विभिन्न देशहरूमा निर्यातका लागि क्वारेन्टाइन क्षेत्रलगायत विषादी व्यवस्थापनका क्षेत्रहरूमा र कृषि वस्तुहरूको भौगोलिक सङ्केतमा एफएओको सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गरे।
भेटवार्तामा एफएओका विशेष प्रतिनिधि गुस्टाफसनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका विभिन्न पक्षलाई असर पारेको र नेपाल जस्ता देशहरूलाई समस्या पारेको उल्लेख गर्दे जलवायु अनुकूलनका कार्यक्रमहरूमार्फत यस्ता चुनौतीहरूको सामना गर्न जरुरी रहेको बताए।
नेपालले कृषि क्षेत्रमा गरेको प्रगतिले सम्भावना देखाएको र आगामी दिनमा कृषिका नवीन आयामहरूलाई अवलम्बन गर्दे जानुपर्नेमा जोड दिए।
भेटवार्तामा एफएओका नेपाल तथा भुटान प्रतिनिधि केन सिमिजु, मन्त्रालयका सहसचिव हरिबहादुर केसीलगायतको सहभागिता थियो।