सरकारले जेठ १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन्।
उनले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताए। उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे। दलहरूबिच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने उनको भनाइ छ।
उनले भने, ‘संसद् अवरुद्ध छ। संसद् अवरुद्ध हुनुको कारण चाहिँ प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागिरहेका छन्। अर्को छानबिन समिति गठन होस् भन्ने छ। तर गृहमन्त्रीले राजीनामा दिनु उचित लाग्छ जस्तो लाग्दैन। प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने हो। दलहरूबिच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने छ।’
यसैगरी, प्रवक्ता गुरुङले सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र दस जना महासेनानीहरुको सरुवा गर्ने निर्णय भएको जानकारी दिए। त्यस्तै, एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ। जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई स्वीकृति प्रदान गरिएको समेत उनले बताए।
त्यस्तै, असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्नेलगायत १४ वटा निर्णय मन्त्रिपरिषद्ले गरेको छ।