नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औँ वर्षको अवसरमा शुभकामना दिएका छन्। 
बुधवार छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले सामाजिक विभेद अन्त्य आफ्नो पार्टीको नेतृत्वमा भएको दश वर्षे जनयुद्धको ऐतिहासिक पहल भएको बताए। 
‘वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको यथार्थ विरुद्ध बृहत् शान्ति सम्झौता पश्चात् वि.सं.२०६३ साल जेठ २१ गते पुनर्स्थापित संसद्बाट नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो। यो घोषणा साढे तीन हजार वर्षदेखि दलित समुदायमाथि भइरहेका सामाजिक विभेद अन्त्य गर्न गरिएको ऐतिहासिक पहल थियो। हाम्रो पार्टीको नेतृत्वमा सञ्चालन भएको दश वर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलनको जगमा निर्माण भएको नेपालको संविधानले दलित समुदायका हक/अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ,’ प्रचण्डले सन्देशमा लेखेका छन्। 
उनले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार सहभागिता, सार्वजनिक क्षेत्रमा सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धि रहेको बताए।