कार्यव्यवस्था समितिको बैठकले प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ। 
शुक्रवार बसेको समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १–१२ को सम्भावित कार्यसूची टुङ्ग्याएको प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिएका हुन्। 
उनले २० गतेदेखि प्रारम्भ हुने बैठकमा सहज ढङ्गले लैजाने गरी आग्रह गरेको पनि जानकारी दिए। 
उनले भने,‘बैठकमा राम्रो छलफल भयो। यो बजेट पारित गर्ने समयसम्मको कार्यतालिकाहरु बनाएको छौँ। २० गतेदेखि प्रारम्भ हुने बैठकमा सहज ढङ्गले लैजाने गरी आग्रह गर्‍यौ। हरेक पटक सदन बन्द गर्ने सानो–सानो कुरालाई पनि मसला बनाएर लैजाने कुरा राम्रो होइन। त्यसले संसदीय प्रणालीमा ठुलो चुनौती पैदा गर्छ। त्यसले यसमा गम्भीर भएर सोच्न पर्नेछ। 
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार जेठमा १० वटा र असार १२ सम्म ९ वटा बैठक निर्धारण गरिएको छ।
यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ भने २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिने छन्।
२६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको भने सम्भावित तालिकाअनुसार २० गते सङ्घीय निजामती सेवा विधेयक पेस गरिनेछ। त्यस्तै, सम्भावित तालिका अनुसार २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेस गरिनेछ।