नेपाल चेम्बर अफ कमर्सले ७५ औँ वार्षिकोत्सवको तयारी गरेको छ। सो अवसरमा हीरक जयन्तीको लोगो सार्वजनिक गरिएको छ। 
शुक्रवार काठमाडौँमा आयोजित विशेष समारोहमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र सल्लाहकार परिषद्का अध्यक्ष एवं हीरक जयन्ती मूल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा लोगो सार्वजनिक गरेका हुन्। 
मुलुकको समग्र चेम्बर अभियानको ७५ औँ ऐतिहासिक वर्षगाँठको अवसरमा चेम्बरले  वार्षिक रूपमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदै छ। 
हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मूल समारोह समिति गठन गरिसकेको छ। 
निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गर्दैछ। 
विसं २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था हो।
चेम्बर अभियान ७५ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्तीलाई भव्य बनाउने तयारी भएको सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले बताए।