सुर्तीजन्य पदार्थको सेवनले मानव जीवनमा गम्भीर असर पार्ने भन्दै सार्वजनिक स्थललाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले धारणा राखेका छन्।
शुक्रवार विश्व धूम्रपान दिवसका अवसरमा काठमाडौँ महानगपालिका वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा काठमाडौँ महानगपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विमल कुमार होडाले सुर्तीजन्य पदार्थको सेवनबाट मानव शरीरमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर गरेको हुनाले यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए।
उनले सुर्तीजन्य पदार्थ नियन्त्रणमा ल्याउन राज्य तथा सरकारी निकायले पनि साथ दिनुपर्ने बताए। उनले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ निषेधित बनाउनुपर्नेमा जोड दिए।
उनले भने,‘सुर्तीजन्य सेवनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर गरेकाले यसको न्यूनीकरण आवश्यक छ। सुर्तीजन्य पदार्थ नियन्त्रणमा ल्याउन राज्य तथा सरकारी निकायले पनि साथ दिनुपर्छ। सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ निषेध गर्नुपर्छ,’ उनले भने। 
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले अहिलेको युवापुस्तामा सबैभन्दा विकराल समस्या नै सुर्तीजन्य पदार्थ सेवन भएकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए।
सुर्तीजन्य पदार्थबाट मानसिक एवम् शरीरका विभिन्न अगंमा असर गर्ने भएकाले सचेत रहन आग्रह गरे। सुर्तीजन्य पदार्थ सार्वजनिक स्थलमा रोक लगाउने हो भने हजारौँ मानिस अप्रत्यक्ष रूपमा जोगिन सक्ने उनको दाबी छ। 
‘अहिलेको युवापुस्तामा सबैभन्दा विकराल समस्या नै सुर्तीजन्य पदार्थ छ। यसलाई नियन्त्रण गर्नचाँही आवश्यक छ। सुर्तीजन्य पदार्थबाट मानसिक तथा शरीरको प्रत्येक अगंमा असर गर्छ। सुर्तीजन्य पदार्थ सार्वजनिक स्थलमा रोक लगाउने हो भने हजारौँ मानिस अप्रत्यक्ष रूपमा जोगिन सक्छन्,’ उनले भने। 
त्यस्तै नेपाल विकास अनुसन्धान प्रतिष्ठान, अनुसन्धान विज्ञ, डा.जयकुमार गुरुङले हाल दक्षिण एसियामा नेपाल धूम्रपानको पहिलो नम्बरमा परेको जानकारी दिए।
उनले नेपालमा प्रत्येक वर्ष २८ हजार १ सय १० भन्दा बढी मानिस धूम्रपानको सिकार हुने गरेको भन्दै नेपालमा ६७ लाख भन्दा बढीले धूम्रपान गर्ने गरेको पनि जानकारी गराए। 
हरेक वर्ष मे ३१ मा धूम्रपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार, समाज र वातावरणमा पार्ने असरबारे सचेत गराइन्छ। विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गर्दछ।
काठमाडौँ महानगपालिका वडा नम्बर ७ ले विगत ७ वर्ष देखि धूम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। वडाले आम जनमानको जीवन वृद्धिका लागि विद्यालय स्तरदेखि नै यसबारे सचेतनामूलक कार्यक्रम गर्दै आएको छ।