इजरायली हवाई आक्रमणले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको साना अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमानलाई ध्वस्त पारेको घट्नाको अन्तर्राष्ट्रिय स्तरमा निन्दा गरिएको छ।
अन्तिम विमान ध्वस्त पारेको इजरायल र यमनका अधिकारीहरूले पुष्टि गरिसकेका छन्। संयुक्त राष्ट्र सङ्घका राजदूतले विमानस्थलमा आक्रमणले यमनी नागरिकहरूको आवश्यक उद्देश्यका लागि यात्रा गर्ने क्षमतामा गम्भीर असर पार्ने कुरामा जोड दिए।
संयम अपनाउन र नागरिक र नागरिक पूर्वाधारको सुरक्षा गर्न अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आफ्नो दायित्व पूरा गर्न’ राजदूतले आह्वान गरे।
हुथी विद्रोहीको अल–मसिराह टिभी च्यानलले ‘इजरायली आक्रामकता’ को निन्दा गर्दै यमनिया एयरवेजको विमान र साना विमानस्थलको धावनमार्गमा हवाई आक्रमण भएको जनाएको छ। साना विमानस्थलका निर्देशक खालिद अल शैफले एक्समा पोस्ट गरेको भिडियोमा उक्त विमान यमनियाको अन्तिम सञ्चालनमा रहेको विमान भएको बताएका छन्।
हुथी अधिकारीहरूका अनुसार ११ दिनअघि इजरायली आक्रमणबाट छ वटा विमान जलेपछि विमानस्थलबाट मे १७ मा मात्र सीमित व्यावसायिक सेवा सुरु भएको थियो। इजरायलका रक्षामन्त्री इजरायल काट्जल लडाकु विमानले विमानस्थलमा हुथीलाई लक्षित गरी दुई वटा क्षेप्यास्त्र प्रहार गरेको बताए।
राजधानी सानासहित उत्तरी यमनलाई नियन्त्रण गर्ने हुथी समूहले नोभेम्बर २०२३ देखि इजरायली लक्ष्यहरू विरुद्ध आक्रमण गरिरहेको छ।
यता, इजरायलले यमनी विरुद्ध धेरै ठुला हवाई आक्रमणहरूको जवाफ दिएको छ। लगभग दुई हप्ता अघि, इजरायली सेनाले साना अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको थियो।