पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले पोखरामा धार्मिक स्थलहरूको प्रचारप्रसारका साथै पर्यटकहरूलाई थप आकर्षित गरेको सरोकारवालाहरूले प्रतिक्रिया दिएका छन्।
पोखरा महानगरपालिकाले ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गरेको छ। महायज्ञले उक्त भ्रमण वर्षलाई सफल पार्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सम्बन्धित निकायहरूले प्रतिक्रिया दिए।
महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले कोटिहोम महायज्ञ लागिरहँदा विभिन्न जिल्लाबाट धार्मिक अनुरागी व्यक्तित्वहरू आइरहेकाले पर्यटनलाई अगाडि बढाउन मद्दत पुगेको बताए। यस्ता धार्मिक कार्यहरूले स्वभाविक रूपमा पोखराको धार्मिक पर्यटनलाई अगाडि लैजाने उनको भनाइ छ।
उनले भने,‘स्वभाविक रूपमा यहाँ ठुला कोटिहोम महायज्ञ लागिरहँदा विभिन्न जिल्लाबाट वा ठाउँ ठाउँबाट धार्मिक अनुरागीहरू व्यक्तित्वहरू आउनुभएको छ। जसका कारण पर्यटनलाई केही हदसम्म अगाडि बढाउने कुरामा सहयोग पुराएको छ। यस्ता धार्मिक कार्यहरूले स्वभाविक रूपमा यहाँको धार्मिक पर्यटनलाई अगाडि लैजान्छ नै।’
यस्तै,पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले कोटिहोममार्फत अहिले धेरै आन्तरिक धार्मिक पर्यटक र केही बाह्य पर्यटकहरूको आगमन भएको बताए।
उनले भने,‘ यो दुर्लभ क्षण हो। पर्यटनको प्रचारप्रसार ठुलो सहयोग मिलेको छ। कन्सर्टहरूजस्तै सांस्कृतिक इभेन्ट पनि भइरहेको छ। यस्ता खालका जुनसुकै इभेन्टहरुले पोखरामा पर्यटकहरू आइपुग्छन्। कोटिहोमको मार्फत अहिले धेरै आन्तरिक धार्मिक पर्यटन र केही बाह्य विशेष गरी भारतीय पर्यटकहरूको आगमन भएको छ।’
यसमा थप्दै उनले भने,‘पोखरामा भ्रमण वर्षको छेको पारेर कोटिहोम आयोजना भएको र सबैभन्दा बढी मानिस भित्र्याउने भन्ने उद्देश्यले भएकाले यहाँका गन्तव्य स्थलहरूमा धार्मिक पर्यटक भित्र्याउँदै महत्त्वपूर्ण योगदान गरेको नै देखिन्छ।’
त्यस्तै,गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष उदय सुवेदीले कोटिहोमले पर्यटन क्षेत्रमा राम्रै प्रभाव पारेको प्रतिक्रिया दिए। अहिले अफ सिजन सुरु भएको अवस्थामा कोटिहोमले गर्दा विदेशी पर्यटकहरूमा पनि सकारात्मक प्रभाव पारेको उनको भनाई छ।
उनले भने,‘कोटिहोमले पर्यटन क्षेत्रमा राम्रै प्रभाव पारेको छ। धार्मिक पर्यटकहरूको आउने क्रम छ। दर्शन गर्न आउनुहुन्छ। सेलिब्रेटीहरुको पनि उपस्थिति रहेको छ। यसले सकारात्मक प्रभाव नै पारेको छ। पर्यटनको क्षेत्रमा यति बेलाको समय अलिकति अफ सिजन हो। भारतमा चाहिँ धेरै गर्मी भएकाले भारतीय पर्यटन आउने सिजन हो। तर अन्य विदेशी पर्यटकको विषयमा लो सिजनमा कोटिहोम गरिदिएकाले सकारात्मक प्रभाव पारेको छ।’
त्यस्तै उनले खाली हुने समयमा पनि पोखराका प्रायजसो सबै होटलहरु कोटिहोमको कारणले नै भरिएको जानकारी गराए।
उनले भने,‘आन्तरिक पर्यटनको बढुवा गर्नलाई पनि राम्रो प्रभाव पारेको छ। अहिले यो खाली हुने समयमा पनि लगभग ४०–५० वटा होटलहरु त उहाँहरूको कारणले नै भरिएका छन्। त्यस कारण पनि पर्यटनमा राम्रै प्रभाव पारेको छ भन्ने मलाई लागेको छ।’
त्यसैगरी,मानव सेवा फाउनडेसनका संस्थापक एवम् महायज्ञका सङ्कल्पकर्ता बाल योगेश्वर विजयकृष्ण मुर्तीमजराजले पनि कोटिहोममा भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको प्रतिक्रिया दिए।
आयोजक मानव सेवा फाउन्डेसनका अनुसार श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा १२ लाख भन्दा बढी भक्तजन सहभागी भएका छन्। विशेष गरी शनिवार र अन्य बिदाको दिनमा भक्तजनहरूको सङ्ख्या धेरै हुने गरेको फाउन्डेसनको दाबी छ।
कोटिहोममा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, भागवत मञ्जरी राधिका दासी, अनुराधा पाण्डे, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतले कोटीहोममा कथा वाचन गरेका छन्।