नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक संविधानबाट प्राप्त मौलिक हकको कार्यान्वयन गरेर फेरिएको व्यवस्था अनुकूल नेपाली जनताको जीवनमा रूपान्तरण गर्ने कार्यभार अझै बाँकी रहेको बताएका छन्।
बिहीबार गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले गणतन्त्र स्थापनासँगै सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिङ्ग र संस्कृतिका जनसमुदायको अधिकार स्थापित गर्दै आम जनतालाई नागरिकको हैसियत प्रदान गरेको बताए।
उनले भने,‘नेपाली जनताको वीरतापूर्ण सङ्घर्ष र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ। यसले पितृसत्तात्मक जहानियाँ सामन्ती राजतन्त्रको अन्त्य गरी सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ। यसले सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिङ्ग र संस्कृतिका जनसमुदायको अधिकार स्थापित गर्दै रैती वा प्रजा होइन, आम जनतालाई नागरिकको हैसियत प्रदान गरेको छ। यद्यपि गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको अक्षरशः कार्यान्वयन गरेर पूर्णरुपमा अधिकार सम्पन्न बनाउँदै फेरिएको व्यवस्था अनुकूल नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा रूपान्तरण गर्ने कार्यभार अझै बाँकी नै छ।’
त्यस्तै अध्यक्ष प्रचण्डले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि गणतन्त्रको जननी शक्तिलाई थप बलियो बनाउँदै गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता रहेको बताए।
‘गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि गणतन्त्रको जननी शक्तिलाई थप बलियो बनाउँदै गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता हो। अहिले एकातिर सरकार सञ्चालनमा देखिएका बेथितिका कारण जनतामा निराशा र असन्तुष्टि बढाउने काम भइरहेको छ भने अर्कोतिर त्यसलाई आफ्नो पुनरुत्थानको आधार बनाउने दिवास्वप्नका साथ प्रतिगामी तत्त्वहरू गणतन्त्रविरुद्ध सल्बलाउने प्रयत्न गर्दैछन्। यो बेलामा यथास्थिति र प्रतिगामी दुवै खाले हर्कतका विरुद्ध सङ्घर्ष गर्दै गणतान्त्रिक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतान्त्रिक शक्तिहरूको कार्यभार बन्न पुगेको छ।’उनले भने