माओवादी केन्द्रको आजको बैठकले गृहमन्त्री रमेश लेखकले स्वतन्त्र, निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको छ।
बैठकपश्चात् माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्।
उनले भने,‘अहिले अध्यागमनमार्फत नेपालीलाई भिजिन भिसामा विदेश पठाउने कार्यमा गृह मन्त्रालयका कर्मचारी जोडिएका भन्ने विषय छन्। सबैतिरबाट आवाज आइरहेको छ। यसमा नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ,’ उनले थप भने,‘नेपाली कांग्रेसभित्रैबाट पनि राजीनामा माग भएको छ र हाम्रो पार्टीको बैठकले पनि अव गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ। पहुँच, प्रभाव र पावर प्रयोग हुनु भएन। स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निष्कर्ष छ।’
यस्तै उनले पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र हुलाकी मार्ग केन्द्र अभियानले राष्ट्रिय एकता, जनजीविका लगायतका कुराहरू नयाँ अध्ययन अनुसन्धान गर्नका लागि मजबुत आधारहरू तयार भएको बैठकले निष्कर्ष निकालेको बताए।
साथै उनले गङ्गालाल श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग र नेपा राष्ट्रिय पार्टीबीच एकताको सबै कुरा टुङ्गोमा पुगेको बताए।