बागमती प्रदेशको प्रदेश खेलकुद परिषद् हेटौँडाले २ करोड १६ लाखको सामान सोझै खरिद गरेको पाइएको छ। बितेको आर्थिक वर्षमा खेलकुद परिषद्ले ठुलो रकमलाई ४४ वटा टुक्रा बनाएर विभिन्न फर्महरूलाई वितरणमुखी ढङ्गले सोझै खरिद गरेको हो।

सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँ भन्दा माथिको रकममा काम गर्दा ठेक्का मार्फत गराउनुपर्ने कानुनी व्यवस्था रहेको भएपनि २ करोड भन्दा धेरै रकमको काम सोझै खरिद गरेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ।

खेलकुद परिषद्ले ४४ वटा फर्मबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन र समापनका लागि भनेर खेल स्थल निर्माण, खेल सामाग्री खरिद, साउण्ड सिस्टम, झण्डा, खादा, छपाइ सम्बन्धी काम लगायतका क्षेत्रमा सोझै खरिद गरेकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो।

यसैगरी महालेखाले यस परिषद्ले बितेको आर्थिक वर्षमा विभिन्न सङ्घसंस्थालाई दिएको अनुदानका विषयमा पनि प्रश्न उठाएको छ। अनुदान रकम दिएपनि काम भए नभएको र अनुदानको सदुपयोग भए नभएको विषयमा महालेखाले प्रश्न गरेको हो। 

Photo (1) 64