प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन आग्रह गरेका छन्।
प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको प्रतिफलका रूपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारी स्तरका साथै जनस्तरबाट पनि मनाउन आग्रह गरेका हुन्।
नेपाल सरकारले यही जेठ १५ गतेको गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षताका मूल आयोजक समितिको समेत गठन गरेको छ।
‘गणतन्त्र दिवस, जनताको दिवस हो। यसलाई जातजातिगत विविध बाजागाजा र झाँकीसहित हरेक ठाउँबाट उत्सवका रूपमा मनाउनुपर्छ।’ प्रधानमन्त्री ओलीले भने, ‘जनताले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका पक्षमा हामी छौँ र यसका लागि सञ्चार क्षेत्रबाट जनताका बीचमा सही सूचना दिएर प्रचारप्रसार गरिनुपर्दछ।’
सोमबार सम्पन्न एमालेको सचिवालयको बैठकले पनि गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकीसहित मनाउने निर्णय गरेको थियो। सो निर्णयको कार्यान्वयनका क्रममा सञ्चारमाध्यम र डिजिटल मिडियामा समेत प्रचारप्रसार गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड दिए।
उनले आफूलाई देशभक्तहरू प्यारो लाग्ने र देशद्रोही तथा प्रतिक्रियावादीहरू मन नपर्ने स्पष्ट गर्दै जस्तो सुकै प्रतिकूल अवस्थामा पनि सत्य र परिवर्तनका पक्षमा सम्झौता नगर्न आग्रह गरे।
