नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिषा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताएका बताएका छन्।

सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा भएको काँग्रेस पदाधिकारी बैठकमा उनले गृहमन्त्री रमेश लेखक निर्दोष रहेको बताएका हुन्।

उनले अफवाहको सिकार कांग्रेसकै नेताहरू समेत भएको बताए। त्यस्तै, उनले भिजिट भिषा प्रकरणलाई आधार मानेर संसद् अवरोध गर्नुपर्ने आधार नभएको बताए। यस विषयमा यथार्थ अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने वा गहिराइमा पुग्नुपर्ने बताएका हुन्।

उनले ‘यस्ता विषमा संसद् अवरोध गर्नुपर्ने कुनै आधार नै छैन। छानबिनको दायरामा उहाँ हुनुहुन्छ। आरोपित गरेर मुद्दा दर्ता गरिएको अवस्था छ। बिना आधारमा सामाजिक सञ्जालमा फैलाइएको अफवाहकै आधारमा संसद् अवरोध हुन थालेको छ। कहीँ पनि यस्तो गर्न मिल्दैन।’

उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी नै परेको अवस्था रहेकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको उल्लेख गर्दै लेखक र लामिछानेको विषय एउटै नभएको बताए।

‘उहाँ (रवि लामिछाने) सँग जोड्न मिल्दैन। उहाँमाथि आरोप आयो, उजुरी आयो। त्यसकारण हामी संसदीय छानबिन माग गरेका हौँ। यहाँ त न कुनै आरोप छ, न आधार छ। आरोपकै भरमा हामीले पनि निष्कर्ष निकाल्ने कुरा भएन,’ महतले भने।