नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङले आफूलाई अझै जनताको स्नेह र आशिर्वादले हार्ने छुट नदिएको बताएका छन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफूलाई हटाउन लाग्नुको स्वार्थबारे सबै जनता जानकार रहेको बताएका छन्।

‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरिय पर्याप्त सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारितापूर्वक खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित गराउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,’ घिसिङले भनेका छन्, ‘नेपाली जनताले दिएको स्नेह र आशिर्वादले मलाई हार्न दिएको छैन।’

साथै, उनले आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बिदा भए पनि नागरिकको रुपमा गर्नुपर्ने कर्तव्यबाट पछि नहटेको बताए।

‘म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशबाटमात्रै बिदा भएको हुँ। एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य कहिल्यै कम हुने छैन,’ घिसिङले भनेका छन्, ‘नेपालको कानुनले निदृष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो, कसको स्वार्थको विषयमा ममाथि जाइलागेको थियो भन्ने नेपाली जनता आफैं जानकार छन्।’

मन्त्रिपरिषद् बैठकले आफूलाई हटाउने दिन पनि बिजुली बाल्नकै लागि मकवानपुरको एउटा विकट बस्तीमा आफू खटिएको उनले बताएका छन्।

‘मलाई हटाउन मन्त्रिपरिषद् बैठकले तयारी गरेको दिनपनि म मकवानपुरको विकट चेपाङ बस्तीमा बत्ती बाल्ने काममा खटिरहेको थिए,’ घिसिङले भनेका छन्।