राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (प्याब्सन) को पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न भएको छ। 
गत बुधबारदेखि काठमाडौंमा सुरु भएको तीन दिने कार्यशाला गोष्ठी शुक्रवार सम्पन्न भएको हो। 
कार्यशालामा देशभरका पूर्व प्राथमिक शिक्षाका विज्ञ, निजी विद्यालयका संस्थापक प्रिन्सिपलहरु तथा काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहेको प्याब्सनले जनाएको छ। 
प्याब्सनका अनुसार कार्यशालाको उद्देश्य २१औँ शताब्दी पूर्व प्राथमिक तहको पाठ्यक्रम सहजीकरणलाई आधुनिक र प्रभावकारी बनाउन, शिक्षण पद्धतिहरूलाई सुधार गर्न र बालबालिकाको सर्वाङ्गीण विकासमा मद्दत गर्ने नयाँ दृष्टिकोणहरूको परिचय गराउनु रहेको छ। 
कार्यशालामा सहभागीहरूले पूर्वप्राथमिक विद्यालय शिक्षा क्षेत्रको विकास, नवीनतम सिद्धान्त, विधि, प्रक्रिया, उपयोगिता र शैक्षिक सामग्रीहरूको प्रयोगबारे अन्तरक्रिया गरिएको प्याबसनले जानकारी दिएको हो।
कार्यशालामा काठमाडौँ विश्वविद्यालयका विशिष्ट प्राध्यापकहरू र शिक्षा विज्ञहरूले पाठ्यक्रम विकासका लागि नेपालको इसीडी पाठ्यक्रम ० देखि ८ वर्षका उमेर समूहका बालबालिकाहरूलाई आधार मानेर वर्तमान परिवेशमा निजी विद्यालयहरूले सञ्चालन गदै आएका २–३, ३–४, ४–५, ५–६, ६–७ र ७–८ वर्ष उमेर समूहका बालबालिकाहरूका लागि छुट्टाछुट्टै उमेर समूहको पाठ्यक्रम निर्माण गर्न आवश्यक सल्लाह, सुझाव र मार्गदर्शन गरिएको अवसरमा बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक र संज्ञानात्मक विकासमा सहायक पाठ्यक्रमको खाका तयार गरिएको छ।
कार्यशालामा सहभागीहरूलाई शैक्षिक अनुसन्धान, अभिप्रेरणात्मक कक्षाहरू र गतिशील गतिविधिहरू प्रदान गरिएको छ। यसले नेपालको पूर्व प्राथमिक शिक्षा प्रणालीमा समग्र सुधार ल्याउने र आगामी वर्षहरूमा थप गुणस्तरीय शिक्षा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नेसनल प्याब्सनद्वारा निर्माण गरी प्रस्ताव गरिने पाठ्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रमा आवश्यक अनुमति तथा स्वीकृतिका लागि पहल गरिने र देशभर कार्यान्वयन गर्नका लागि प्रशिक्षण प्रशिक्षकहरू उत्पादन गरी हरेक विद्यालयका शिक्षकहरूलाई तालिम दिएर शैक्षिक विकासका कार्यक्रमहरू सञ्चालन गर्ने प्याबसनको योजना छ।