राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवा शुक्रवार समुद्घाटन गरिएको छ। शुक्रवार एक विशेष कार्यक्रमकाबिच उक्त सेवाको समुद्घाटन गरिएको हो।
उक्त सेवा कार्यक्रमको समुद्घाटनमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रबाट लाभ लिन र यसलाई आयुर्वेद पर्यटन केन्द्रका रूपमा विकास गर्न स्थानीयहरूको धेरै ठुलो भूमिका रहने बताएका छन्।
उनले आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रमा पर्यटकहरू उपचार सेवा लिनको निम्ति यहाँ आउने स्थिति बनाउन सबैले प्रयत्न गर्न जरुरी रहेको बताएका हुन्।
उनले भने, ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवाबाट लाभ लिन र यसलाई आयुर्वेद पर्यटन केन्द्रका रूपमा विकास गर्न स्थानीयहरूको धेरै ठुलो भूमिका रहन्छ। स्थानीयहरूको साथ सहयोगले नै आयुर्वेद पर्यटन केन्द्रका रूपमा विकास हुने भएकाले म त्यसको निम्ति सबैलाई अपिल समेत गर्न चाहन्छु। यो हाम्रो क्षेत्रमा, हाम्रो ठाउँमा यो बनेको छ। यसलाई चाहिँ नेपालकै पञ्चकर्मको केन्द्र अथवा पर्यटकहरू उपचार सेवा लिनको निम्ति यहाँ आउने स्थिति बनाउनका निम्ति हामी सबैले प्रयत्न गर्न जरुरी छ।’
यसैगरी उनले उपचार कसरी गर्ने भन्ने बारेमा केही उपलब्धिहरू भए पनि त्यसले पूर्णता प्राप्त गर्न नसकेको बताए। उनले बिरामी बढाउने नभैइ बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्तर्गत कामहरू गर्न जरुरी रहेको बताए।
उनले भने, ‘खासगरी बिरामी भएपछि उपचार कसरी गर्ने भन्ने बारेमा हामीले केही हदसम्म बहस गरिरहेका छौँ। केही उपलब्धिहरू पनि भएका छन् तर त्यसले पूर्णता प्राप्त गर्न सकेको छैन। यसरी नै बिरामीको सङ्ख्या बढ्ने हो भने हामीले बिरामीहरूको उपचार गर्ने विषयलाई पूर्णतातिर होइन,अझ अपुग हुने स्थिति बन्छ। हामीले बिरामी बढाउने होइन, बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्तर्गत कामहरू गर्न जरुरी छ। हामीले निरोगी नेपाली अथवा नेपालीलाई रोग लाग्न नदिन के के उपाय अपनाउन सकिन्छ त्यसको लागि स्वास्थ्य मन्त्रालय कोसिस गरिरहेको अवस्था छ।’




















