नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जनताका दबिएका आवाजहरू, कमैयाका मुक्तिहरू र वर्गीय सङ्घर्षको आवाज बोल्नुपर्ने समय आएको बताएका छन्।
शनिवार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सदियौँदेखि आँगनमा टेक्न दिइँदैन, एउटा मान्छेलाई देवता छुन दिइदैन, पँधेरोको पानी निकालेर पिउन दिइँदैन त्यसैले वर्गीय सङ्घर्षको आवाज बोल्नुपर्ने बताएका हुन्। 
उनले भने, ‘जनताले छल चाहेका छैनन्। जनताले हातेमालो चाहेका छन्। ती जनताले कप्टी नेता खोजेका छैनन्, ती जनताले डा।सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन्। डा. सिके राउत र मैँले हात रहँदा दुई वटै पार्टीको संरक्षक बनाउने भन्नुभयो। म न त संरक्षक चाहन्छु न त अध्यक्ष नै। म यति मात्रै चाहन्छु कि दबिएका आवाजहरू, कमैया मुक्ति चाहन्छु। सदियौँदेखि आँगनमा टेक्न, देवता छुन र पँधेरोको पानी निकालेर पिउन दिइँदैन त्यो  वर्गीय सङ्घर्षको आवाज रेशम चौधरीले बोल्ने की नबोल्ने ? त्यो बोल्नका लागि एउटा मात्र फोरम भएर हुँदैन रहेछ। देशमा आवाज सुनाउनका निम्ति राजनीतिक फोरम चाहिदोरहेछ।’
साथै उनले सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनु हुँदैन साथै देशको संविधानले अधिकार प्राप्तिका लागि पनि खस, आर्य र थारुको अधिकार फरक फरक हुन नहुने बताए। उनले चुनावमा जिते नजिते पनि आफ्नो प्रतिबद्धता थारु समुदायसँग रहेको बताए।
उनले भने, ‘म चुनावमा जितौँला, नजितौँला तर मेरो प्रतिबद्धता थारु समुदायसँग छ। यात्रामा साथी गुमाउन चाहँदैनौँ। यात्रामा हातेमालो गर्न चाहन्छौँ। मान्छेले धेरै कुरा गर्छन्। सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनुहुँदैन। संविधानमा प्रत्येकको अधिकार प्राप्तिका लागि पनि खस, आर्य र थारुको अधिकार फरक फरक हुनुहुँदैन।’ 
थारु र कमैयाहरूको समस्या समाधान गर्न एक्लै सकिँदैन : डा. राउत
यसैगरी जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले कञ्चनपुर जिल्लामा विस्थापित थारुहरू, कमैयाहरू जुन बसिरहेका छन् उनीहरूको जग्गा उपलब्ध गराउन आफू सधैँ तत्पर रहने बताए। उनले थारु र कमैयाहरूको समस्या समाधान गर्न एक्लै नसकिने र यसमा मिलेरै जानुपर्ने बताए।
उनले भने, ‘हामी सबै जना मिलेर गयौँ भने थारु र कमैयाहरूको समस्या समाधान गर्न सक्छौँ। आफ्ना मागहरू पूरा गर्न सक्छौँ। कञ्चनपुर जिल्लामा विस्थापित थारुहरू, कमैयाहरू जुन बसिरहेका छन् उनीहरूको जग्गा उपलब्ध गराउन म सधैँ तत्पर छु।’
बैठकमा सिके राउतले नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच पार्टी एकताको अन्तिम तयारी भएको छ। तराई मधेसको सबैभन्दा ठुलो दल बनाउने दुई पार्टी एकताको लागि सहमत भएका हुन्।