प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो हप्ता उद्घाटन, शिलान्यास र चर्को भाषणमा व्यस्त देखिए।
चैत १ गतेदेखि ८ गतेसम्मका दैनिक गतिविधिहरू प्रधानमन्त्री भाषण र उद्घाटनका कार्यक्रममा मात्र व्यस्त देखिएका छन्। तर ती कुनै पनि कार्यक्रमहरू द्रुत र स्थायी सुधारको सङ्केत देखिँदैन।
यही कारण ओली नेतृत्वको सरकारप्रति ठुलो प्रश्न उठ्न थालेको छ। ओलीको यो हप्ता विभिन्न कार्यक्रम र उद्घाटनहरूमा सहभागिता जनाए। तर कुनै एक विषयमा पनि ‘स्थायित्व’ र ‘कार्यमा सुधार’को ठोस कार्यान्वयनका पहलहरू नजरअन्दाज गरिएको देखिन्छ।
प्रधानमन्त्री ओलीको प्रत्येक कार्यमा बाहिरी रूपमा आकर्षक शब्द र भाषण मात्र देखिन्छन्, तर त्यसको वास्तविक प्रभाव र कामको ठोस मूल्याङ्कन भने लगभग शून्य नै छ। बितेको एक हप्तामा अर्थात् चैत १ गतेदेखि ८ गतेसम्म प्रधानमन्त्री ओलीको समय उद्घाटन, निर्देशन र भाषणमा बितेको स्पष्ट देखिन्छ।
चैत १ गते प्रधानमन्त्री ओली सगरमाथा संवाद कार्यक्रममा सहभागी भए। जहाँ उनले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिए।
चैत २ गते ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मेलन–२०८१’ मा सहभागी भए।
जहाँ उनले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलनको दोस्रो शृङ्खला आयोजना भएकोमा खुसी प्रकट गरे। ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत् भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादूर्भाव भएको बताए।
चैत ३ गते ओली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को उद्घाटन गरे।
जहाँ उनले महिला र पुरुषको समान सहभागिताले मात्र समृद्धि सम्भव हुने बताए। ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताए।
यसैगरी, चैत ५ गते ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक सम्पन्न गरे। जहाँ उनले गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरूमा ध्यान दिन जोड दिए।
चैत ६ गते ओलीले माल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता गरे। नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मथिहेल पोप्सोइले शिष्टाचार भेट गरेका थिए।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको थियो। यसैगरी सोही दिन नै ओली संसद्मा प्रस्तुत गर्न पुगे। जहाँ उनले हरेक सांसदहरूका प्रश्नहरूको जवाफ आँखा चिम्लेरै दिए। उनले संसदमै यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन कसैले भन्दै कडा प्रहार व्यक्त गरे।
चैत ८ गते ओली नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्न पुगे।
जहाँ उद्घाटन गर्दै ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह समेत गरे।
उनले भने,‘राष्ट्रिय उत्पादनमा जोड र हाम्रा आवश्यकताहरू उपभोग्य वस्तुहरू हामी आफैँ तयार गर्न सकौँ भन्ने हो। आत्मनिर्भरतामा देशलाई लैजान सकौँ भन्ने जोड र निर्यातलाई जोड, आयातलाई प्रतिस्थापन गर्नका लागि धागो उत्पादन कपडा र मोजा उत्पादन गर्न जरुरी छ। बिहान उठ्ने बित्तिकै आफ्नै देशको उत्पादन ब्रस र मन्जनले मुख सफा गर्न पाउँदा पनि कति खुसी हुन्थ्यो तर त्यो पनि स्थिति छैन। स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्ने छ। हाम्रा उत्पादित वस्तुहरुपनि प्रयोग गर्ने जनताले बानी बसालौँ।’
सारांशमा, प्रधानमन्त्री ओलीको पछिल्लो हप्ता निश्चित रूपले असल गतिविधिहरूको चाँदीको पत्र हो, तर त्यसको भित्री तात्त्विकता शून्य छ। महत्त्वपूर्ण योजनाहरूका बारेमा उनलाई आवश्यक नेतृत्व लिने गरेपनि परिणाम सन्तोषजनक देखिएको छैन। उनको प्राथमिकता भनेको देशको वास्तविक हित होइन, केवल आफूलाई ठुलो देखाउने र कसमसाउने नै रहेको बुझ्न सकिन्छ।