सशस्त्र प्रहरी बलले एक हजार ६३६ केजी गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले उक्त परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुईजनालाई नियन्त्रणमा लिएको हो।

इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँले जानकारी दिए।

पक्राउ पर्नेमा धनकुटाको शहीदभूमि नगरपालिका–४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ का गङ्गाबहादुर बस्नेत रहेका छन्।

प्रहरीले जाँच गर्दा ट्रकमा ५७ बोरामा राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको हो। प्रहरीले उनीहरुको साथबाट ८७ हजार रुपैयाँ र पाँच थान मोबाइल समेत बरामद गरेको छ। उनीहरुलाई ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ।