सञ्चारमाध्यममा प्रकाशित समाचार सामाजिक सञ्जाल फेसबुक पेजमा शेयर गर्दा अपमानजनक टिप्पणी लेख्ने एक व्यक्ति पक्राउ परेका छन्। 
मोरङ सुन्दरहरैंचा नगरपालिका १० घर भएका ६२ वर्षीय देवराज कार्कीलाई विद्युतीय कारोबार ऐन अन्तरगतको अपराध आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको हो।
पीडित महिलाले कार्की विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा दिइएको जाहेरी अनुसार व्यक्तिगत चरित्रमाथि आक्रमण गरी अपमानजनक टिप्पणी, महिलाद्वेष, अपशब्दको समेत प्रयोग र आत्मसम्मानमा चोट पुर्‍याउने गरी विद्युतीय कारोबार ऐन अन्तरगतको अपराध गरेको पाएपछि पक्राउ गरेर अनुसन्धानको प्रक्रिया थालिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कार्की विरुद्ध जाहेरी परेपछि अदालतबाट पक्राउ अनुमतिको पुर्जी जारी गरी बिहीबार घरबाटै पक्राउ गरेर थप अनुसन्धानका लागि म्याद थप्ने प्रक्रिया सुरु गरिएको हो।
महिलावादी अभियन्ता तथा अधिवक्ता र सामाजिक रूपमा सक्रिय महिलाले गत चैत १ गते बेलुका आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत अनलाइन खबरले प्रकाशन गरेको ‘काठमाण्डौं स्कुल अफ लका सञ्चालक संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहारको आरोप’ भन्ने शीर्षकको समाचार शेयर गरेकी थिइन्।
त्यसमा गरिएको कमेन्टमध्ये कार्कीले व्यक्तिगत चरित्रमाथि आक्रमण गर्ने गरी अपमानजनक टिप्पणी गरेका थिए। कार्कीले चैत २ गते बिहान उक्त सञ्चारमाध्यमको समाचार शेयर गरेको फेसबुक पेजमा बिहान ८ः२५ बजेको समयमा कमेन्ट लेखेका थिए। जुन कमेन्टमा पीडित महिलाको चरित्र हत्या गरिएको छ। सामाजिक सञ्जालको माध्यमबाट चारित्रिक तथा मानसिक हिंसा गैरकानुनी रहेको भन्दै महिलाले विद्युतीय कारोबार ऐन अनुसार हदैसम्मको कारबाही माग गर्दै चैत ३ गते उजुरी दिएकी थिइन्।