स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा चैत १६ गते शनिग्रह विशेष र साडेसाती पूजा हुने भएको छ।
नेपालमै पहिलो पटक निर्माण भएको अर्जुनचौपारी गाउँपालिकामा रहेको नवग्रह मन्दिरमा शनि ग्रहलाई शान्त पारी यसको असर कम गर्नका लागि चैत १६ गते शनिग्रह विशेष पूजा हुने भएको हो। यो पूजा नेपालमा पहिलो पटक यसरी आयोजना गरिएको हो। पूजालाई धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट विशेष हुने बताइएको छ। 
चैत्र कृष्ण औँसीका दिनमा (१६ गते) शनिग्रह आफ्नो कुम्भ राशिबाट वृहस्पति ग्राहक स्वामित्वमा रहने मीन राशिमा अर्थात् १२ औँ घरमा प्रवेश गर्ने भएकोले त्यस दिन विशेष पूजा गरिने पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए।
विशेष पुजाको अवसरमा नवग्रहका स्वामी शिव, हनुमान तथा शनिदेवको विशेष पूजाआजा गरिनेछ। साथै, शनिदेवको निशान प्रतिमा राखिएको रापाकोट कालिका मन्दिरमा समेत पूजा गरिनेछ। चैत १६ गते सुर्यग्रहण लाग्ने भएकोले पनि यस दिनको पूजालाई अझ विशेष मानिएको छ। 
ज्योतिष शास्त्रअनुसार नौ ग्रहहरूमध्येका एक शनि ग्रह कर्म, अनुशासन, न्याय, धैर्यता, र जिम्मेवारीको प्रतीक मानिन्छन्। शनि मानिसलाई जीवनमा कठोर परिश्रम, धैर्य, र आत्मअनुशासन सिकाउने ग्रह हुन्। नवग्रहहरुमध्ये शनिको सबैभन्दा सुस्त गति भएपनि मानव जीवनमा यसको प्रभाव गहिरो एवम् दिगो हुन जान्छ।
हिन्दु धर्मअनुसार शनि जब कुनै राशिमा प्रवेश गर्छन्, त्यसले सो राशिको गुण धर्मअनुसार फरक प्रभाव पार्छ। यदि शुभ स्थानमा रहे भने, यसले सफलता, दृढ इच्छाशक्ति, र स्थायित्व प्रदान गर्छ, तर अशुभ स्थानमा भएमा अवरोध, ढिलाइ, तथा कठिनाइहरू ल्याउन सक्छन्। शनि ग्रह गुरु बृहस्पतिको राशिमा प्रवेश गर्दा त्यति नकारात्मक असर नदेखिए पनि मानव जीवनमा यसका विभिन्न प्रभावहरू पर्दछन्। 
शनि मीन राशिमा रहँदा सबै राशिहरूमा विभिन्न प्रभाव पार्ने गर्दछ। यसले मुख्यतः मीन राशिमा नकारात्मक असर पार्ने भएपनि यसको असर अन्य राशिमा पनि पर्ने देखिन्छ। यसको नकारात्मक असर कम गर्नका लागि शनिदेवको पूजा गर्नु आवश्यक हुन्छ। साथसाथै, हनुमानको पूजा गर्ने, हनुमान चालिसा पढ्ने, शनिदेवलाई तेल चढाउने, गरिब दिन दुखीलाई भोजन गराउने गरेमा पनि शनि प्रसन्न भई नकारात्मक असर कम गराउन सकिने ज्योतिष शास्त्रहरूले बताएका छन्। 
प्रत्येक साढे दुई वर्षमा ग्रहले राशि परिवर्तन गर्ने गर्दछ। शनिवार राति १० बजेर २२ मिनेटमा  शनि ग्रहले राशि परिवर्तन गरेर मीन राशिमा जानेछ। यसरी मीन राशिमा आएको शनि ग्रह ३० महिनासम्म मीन राशिमा रहनेछ। ज्योतिष शास्त्रका अनुसार राशि परिवर्तन गर्ने यो समीकरणलाई मुलुकमा समस्या पैदा गर्न सक्ने चुनौतीपूर्ण समीकरणका रूपमा हेरिन्छ।
यसले मुलुकमा विभिन्न किसिमका प्राकृतिक प्रकोपहरूले असर गर्ने बताइन्छ। मे महिनाको तेस्रो हप्तासम्म शनि र राहुसँगै हुने हुनाले यसले समस्याहरू पैदा गर्न सक्छ र नयाँ ग्रहणको प्रक्रिया सुरु नहुन्जेल समस्या पैदा गर्छ। यस मन्दिरमा उक्त दिनमा हनुमान चालिसा वाचन, भजनकिर्तनसमेत गरिने भएकाले सम्पूर्णलाई नवग्रह मन्दिरमा हुने शनि विशेष पुजामा उपस्थित भई शनिको असर कम गर्न सकिने भएको हुँदा त्यस दिन अर्जुनचौपारीमा विशेष पूजा हुन लागेको अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताए। 
गण्डकी प्रदेशको मुकाम पोखराबाट करिब ५२ किलोमिटर दुरीमा रहेको नवग्रह मन्दिर स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठानयता करिब २ लाख बढीले मन्दिरको दर्शन गरिसकेका छन्।