उप–प्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले योजना छनोट गर्दा प्राथमिकताको आधारमा बढी फाइदा हुने खालका योजनाका बजेट छनोट गर्नुपर्ने बताएका छन्।
बुधवार बिहान सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री सिंहले योजना सम्पन्न गर्न धेरै रकम चाहिने तर सीमित स्रोत साधनले काम गर्दा ढिलो हुने भन्दै योजना छनोट गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘नेपालको अर्थतन्त्रको अवस्थाको कारण हामी व्यवहारिक हुनुपर्छ। योजना छनोट गर्दा प्राथमिकताको आधारमा बढी भन्दा बढी फाइदा हुने खालको योजनामा बजेट राख्दा राम्रो हुन्छ। योजना सम्पन्न गर्न धेरै रकमहरू चाहिएको हुन्छ, तर हामीलाई उपलब्ध भएको स्रोत र साधन जति छ त्यही अनुसार काम गर्दा छिटो हुने काम ढिलो हुन्छ।’
उनले उपत्यकाको नदिहरुको व्यवस्थाको लागि सरकारले अरबौँ लगानी गर्दा पनि प्रतिफल नआएको बताए।
‘उपत्यकाको नदिहरुको अवस्था एकदमै नाजुक छ। त्यसलाई सुधार्न धेरै कामहरू गर्नुपर्ने छ। ढलहरू नदिमा खन्याउने गरेको छ त्यसलाई रोक्न के गर्नुपर्छ भन्ने कुरा भनेर मैले सरकारलाई प्रश्न पनि गरे सरकारले यत्रो अरबौँ रुपैयाँ लगानी गरिसक्यो अवस्था त्यही छ के गर्नुभएको हो। इन्जिनियरहरूले चैँ डिजाइन गरेको असफल भएको हो की इन्जिनियरहरू विदेशी विश्वविद्यालयबाट डिग्री लिएर आएका छन्। तर डिजाइनमा चैँ समस्या भएको कारणले यस्तो अवस्था भइरहेको छ यसलाई सच्याउन तर्फ हामी गइरहेका छौँ। नदी सफा राख्नलाई बढी जोड दिइरहेका छौ,’ उनले भने।
यस्तै, छलफलमा सहरी विकास महाशाखाका सहसचिव पद्मकुमार मैनालीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।