गायक तथा मोडल दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कन्सर्ट नगर्ने घोषणा गरेका छन्।
दुर्गेशले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘परीक्षा हाम्रो जीवनको महत्वपूर्ण घडी हो। केवल मनोरञ्जनमा मात्र होईन उज्ज्वल भविष्यका लागि पनि म सधैं हजुरहरुकै साथमा हुनेछु।‘ यदि म कार्यक्रम गर्दै हिँडेँ भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ।’
एसईई परीक्षा भोलि बिहीबारबाट सुरु हुँदैछ। अर्को साताभरीसम्म परीक्षा चल्नेछ। यो अवधिभर आफूलाई कार्यक्रमको लागि प्रस्ताव नगर्न उनले आयोजकहरुलाई आग्रह गरेका छन्। यसबाट पर्ने असुविधा प्रति उनले आयोजक समक्ष माफिसमेत मागेका छन्।
पछिल्लो समय गीत ‘दुश्मन हेरेको हेर्यै’ सार्वजनिक भएपछि उनको चर्चा चुलिएको छ। यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ। अहिले उनी कन्सर्टमा निकै व्यस्त छन्।
एसईई परीक्षा दर्शकको महत्त्पूर्ण समय भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘जब हजुरहरूका लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ।’