झापाबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको एम्बुलेन्स दमकमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पतालबाट बिरामी बोकेर आउँदै गरेको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट स्टोरअगाडि आज (बुधवार) बिहान १ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका–१० की १९ वर्षीया आरजु राई, २० वर्षीय विशाल लिम्बू, ५१ वर्षीया मिना लिम्बू, २१ वर्षीय अन्जेश लिम्बू र २३ वर्षीया वर्षा लिम्बू घाइते भएका छन्।
त्यस्तै, एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका–५ का ३५ वर्षीय कमल अधिकारी पनि घाइते भएका छन्।
घाइतेमध्ये आरजु राईको अवस्था गम्भीर छ। उनको टाउकोमा चोट रहेको जानकारी डिएसपी खड्काले दिए। उनका अनुसार अरू घाइते सामान्य छन्। सबैलाई थप उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पतालमा भर्ना गरिएको छ।
दुर्घटनामा परेर घाइते हुनेमध्ये ५१ वर्षीया मिना लिम्बू बिरामी थिइन्। केही समयदेखि उनको खुट्टा दुखिरहेको थियो। बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचार भइरहेको थियो। अस्पतालले थप उपचारका लागि रेफर गरेपछि विराटनगरतर्फ ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेर उनीसहित ६ जना घाइते भएको डिएसपी खड्काले बताए।
तीव्र गतिमा रहेको एम्बुलेन्स आफैँ अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।