उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित कल्याण चोकमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ भने एक करोड २५ लाख बराबरको क्षति भएको छ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ३ बजे स्थानीय शरण राईको घरमा विद्युत् सट भई आगलागी सुरू भएको हो। राईको घरको आगो छिमेकी सवर्धन राईको घर र अर्का कालुमान राईको घरमा सल्केर आगलागी हुँदा तीन घर जलेर नष्ट भएको प्रहरीले बताएको छ।

आगलागीका कारण दुई घर भित्रका सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको अर्का एकघरको सामान भने केही निकाल्न सफल भएको प्रहरीले बताएको छ।

आगलागी सुरू हुनासाथ चौदण्डीगढी नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि पर्याप्त नभएपछि छिमेकी रौतामाई गाउँपालिका र छिमेकी सप्तरीको कञ्चनपुर नगरपालिकाकोसमेत दमकल झिकाएपछि तीन दमकलको सहयोग, सशस्त्र प्रहरी, इलाका प्रहरी बेल्टार र स्थानीयवासीले आगो नियन्त्रणमा भूमिका खेलेको प्रहरीले जनाएको छ।

करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएका कारण अन्य छिमेकी घरहरू र टोलहरू सुरक्षित रहन पुगेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बविन राईले बताए।