सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्दै छ। बैठक दिउँसो सवा १ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ।
कार्यसूची अनुसार बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने छन्।
यस्तै, राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन्। राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ को सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्ने छन्।
त्यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विधायन व्यवस्थापन  समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।