मोरङको धनपालथान गाउँपलिकाको एउटा मुस्लिम टोलमा आगलागी हुँदा एक जना बालिकाको ज्यान गएको छ। 

वडा नं ७ स्थित कदमा मुस्लिम टोलमा भएको आगलागीमा स्थानीय मोहम्मद हनिफको ४ वर्षीया छोरी रेश्मा खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। 

कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धान रहेको जानकारी दिए। आगलागीबाट टोलका ९ घर जलेर नष्ट भएका छन्। 

आगलागी नियन्त्रणका लागि रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र विराटनगर महानगरपालिकाका दमकलका साथै स्थानीय बासिन्दा र सुरक्षाकर्मी परिचालित भएका थिए।