अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ लामा रहेको खुलेको छ। काठमाडौँको झोर क्षेत्रबाट पक्राउ परेका उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको प्रहरीले जनाएको छ।
अमेरिकी डलर र युरोसहित ना.७ ख १६५२ नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालवाहक ट्रकको चालक ‘फुच्चे’ भनिने लामालाई पक्राउ गरिएको थियो। 
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर ०१ बस्ने ४३ वर्षका उनलाई हिजो राती ११ बजे काठमाडौँको टोखा नगरपालिका ०२ झोरबाट अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै छिमेकी राष्ट्र चीन लगिँदै छ भन्ने सूचनाका आधारमा पक्राउ गरिएको थियो। 
मालवाहक ट्रकमा शङ्का लागि रोकी थप अनुसन्धानको लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याई खानतलासी गर्दा उक्त ट्रकको ‘वोनोट’ अर्थात् ड्राइभर बस्ने कोठा (क्याबिनको बायाँ तर्फको) माथिल्लो भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको विदेशी मुद्राहरू फेला परेको हो। 
कुसाङ लामा चालक भई भरियाको रूपमा काम गरिरहेको भन्ने प्रारम्भिक बयानबाट बुझिन आएको प्रहरीले जनाएको छ। उनीबाट करिब २५ करोड रुपैयाँ बरामद गरिएको जनाइएको छ। 
बरामद भएको रकम अमेरिकी डलर १०० दरका नोटहरू जम्मा थान ३,११९ (तिन हजार एक सय उन्नाईस) र ५० दरका नोटहरू जम्मा थान १७९ (एक सय उनान्असी) रहेको छ भने युरो ५०० दरका थान ११, २०० दरका थान ४८०, १०० दरका थान ४१४८ र ५० दरका थान १७१७७ रहेको छ। 
यसको साथै, नारायणी प्रदेश–७ ख १६५२ को मालवाहक ट्रक गाडी एउटा र मोबाइल दुई वटा पनि जफत् गरिएको छ। 
निजले अवैध तरिकाबाट भन्सार तथा राजस्व छली अवैध विदेशी मुद्राको कारोबार गरेको हुँदा निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा हदैसम्मको कारबाही तथा थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाइने प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ। 
कुसाङ लामा अनुसन्धानको क्रममा निज व्यक्ती पहिले पनि मिति २०७३ साल पुस १३ गते राजस्व छली सुन चोरी पैठारी मुद्दामा सात केजी सुन सहित पक्राउ परि श्री राजस्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरबाट मुद्दा चलाइएको खुल्न आएको छ।