सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसभित्र देखिएको गुटगत विवादको असर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा देखिएको छ। 
नेपाली कांग्रेस कास्कीभित्र देखिएको पूर्वजिल्ला सभापति कृष्ण केसी समूह र वर्तमान जिल्ला सभापति किशोरदत्त बराल समूहबिचको विवादको असर स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा देखिएको हो। केसी डा. शेखर कोइराला समूह निकट मानिन्छन् भने बराल पार्टी सभापति शेरबहादुर देउवा समूह निकट ठानिएका छन्।
नेपाली कांग्रेस कास्कीभित्रको यही गुटगत विवादका कारण भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको बराल समूह इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा भएको स्ववियु चुनावमा सहभागी छ भने अर्को समूह क्याम्पसको मूलगेटमा सोमबार साँझदेखि रिले अनसन बसिरहेको छ।
आन्तरिक कलहका कारण नेपाल विद्यार्थी सङ्घले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको स्ववियु चुनावमा सचिव पदमा उम्मेदवारी दर्ता गर्न सकिरहेको छैन। त्यसको दोष डा।कोइराला समूहले पार्टीका वर्तमान कास्की जिल्ला सभापति किशोर दत्त बराललाई दिएको छ।
सो समूहले त क्याम्पसको मूल गेट अगाडि रहेको आफ्नो सम्पर्क कार्यालय सामुन्ने ठड्याएको फ्लेक्स बोर्डमा आफ्नो सङ्गठनका उम्मेदवारहरूको नाम र फोटो राखेको छ। तर सचिव पदमा भने ‘सचिव बेचुवा’भन्दै वर्तमान कास्की जिल्ला सभापति बरालको फोटो राखेको छ।
एकातिर नेपाली कांग्रेसको डा. कोइराला समूहले आफ्नो पार्टीको जिल्ला सभापति बरालविरुद्ध असन्तुष्टि जनाइरहेको छ नै, अर्कोतिर आफ्नो सङ्गठनको तर्फबाट उम्मेदवारी दर्ता गराएका सचिव पदका उम्मेदवार प्रशान्त उपाध्यायको उम्मेदवारी दर्ता नगरेर अन्याय गरेकाले निर्वाचन समिति र क्याम्पस प्रमुख समेतले राजीनामा दिनुपर्ने भन्दै आन्दोलन सुरु गरेको छ।
आन्दोलित बनेको नेविसंघको डा. कोइराला समूहका विद्यार्थीहरूले सोमबार साँझ क्याम्पस प्रमुख र निर्वाचन समितिको विरुद्ध नाराबाजी गर्दै क्याम्पस गेट अगाडि टायर बालेर प्रदर्शन पनि गरेका थिए।
स्ववियु चुनाव समितिले कुनै पनि हालतमा सचिव पदमा प्रशान्त उपाध्यायको नाम समावेश नगर्ने निधो पाएको डा।कोइराला समूहले सोमबार साँझदेखि नै रिले अनसन पनि सुरु गरिसकेको छ। मगलबार बिहान पनि रिले अनसन जारी राखेको छ।
आन्दोलनरत कोइराला समूहले निर्वाचन हुनै नहुने र फेरि मनोनयन प्रक्रियामा जानुपर्ने माग गरिरहेको छ। तर, निर्वाचन समिति संयोजक दीपक थापाले भने चुनाव नरोकिने दाबी गरिरहेका छन्। सोमबार रातिसम्म वार्ता भएको थियो। तर वार्ता टुङ्गोमा पुग्न सकेन।
नेविसंघले सौगात पण्डितको अध्यक्षतामा निर्वाचनमा जान मनोनयन दर्ता गराएको थियो। तर, सचिव पदमा आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै मनोनयन पत्र नै च्यातिएको नेविसंघकै एउटा समूहले आरोप लगाइरहेको छ। नेविसंघ केन्द्रीय कमिटीले सचिवको उम्मेदवार उपाध्यायलाई बनाउन भन्दै परिपत्र नै गरेको छ।
नेविसंघका केन्द्रीय सदस्य तथा क्याम्पसका केन्द्रीय प्रतिनिधि भरत बस्नेतले निर्वाचन समितिको त्रुटिका कारण सचिव मनोनयन हुन नसकेको भन्दै निर्वाचन हुन नसक्ने दाबी गरे। मनोनयनका लागि फर्म दिएर पनि दर्ता नगरिएको उनको दाबी छ।
केन्द्रको परिपत्र हुँदाहुँदै सचिवविनै निर्वाचन अगाडि बढ्ने देखेपछि तालाबन्दी गरिएको र कास्की सभापतिलगायत केही नेताले खेल्ने प्रयास गरेको उनीहरूको आरोप छ। नेविसंघका विद्यार्थीहरूले आफूले भनेको मान्छे सचिव नपाएपछि रेजिना खड्काले मनोनयन पत्र नै च्यातेकोसमेत आरोप लगाइरहेका छन्।