यस वर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षाको लागि रौतहटमा ४० वटा परीक्षा केन्द्र कायम गरिएको छ।
जिल्ला भरीमा १ सय २७ वटा विद्यालयबाट १० हजार ४ सय ८४ जना परीक्षार्थीहरू परीक्षामा सामेल हुँदै छन्।
एसईई परीक्षामा साधारण नियमित तर्फ ५ हजार १ सय ७२ छात्र तथा ४ हजार ७ सय ६२ जना छात्रा परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख वीरेन्द्र जंग थापाले बताए।
उनका अनुसार प्राविधिक र ग्रेड वृद्धि तर्फ गरी कुल १० हजार ४ सय ८४ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुन लागेका हुन्। माध्यमिक शिक्षा (एसईई) परीक्षाको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
हरेक परीक्षा केन्द्रमा १५ जनाको दरले करिब ६ सय जना सुरक्षाकर्मी परिचालन गर्ने तयारी थालिएको इकाई प्रमुख थापाले बताए। एसईई परीक्षाको लागि ४० जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ५०६ जना निरीक्षक, ८८ जना परीक्षा सहायक,१९५ जना कार्यालय सहयोगी परिचालन गरिने शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जनाएको छ।
यस वर्षको एसईई परीक्षामा यहाँका ९९ वटा सामुदायिक विद्यालय, २० वटा संस्थागत विद्यालय, ८ वटा प्राविधिक विद्यालय र १ खुला सहित गरी १ सय २७ वटा विद्यालयको सहभागिता रहने भएको हो। एसईई परीक्षा चैत ७ गतेबाट हुन लागेको छ।