नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भनेर संसदमा राखेको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छिन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गरिन्।
उनले भनिन्,‘हिजो सत्ता पक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थपार्जन गरौँ भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो। यस्तो चिन्तनको घोर भर्त्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादित रूपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गर्दछु।’
साथै उनले त्यस्तो कार्य गर्नका लागि आफ्नो परिवारबाट अगाडि बढाउनको लागि आँट गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरिन्। सांसद घिमिरेले हिजो आइतबार मुलुकको अर्थतन्त्र सुधारको लागि र पर्यटकको सङ्ख्या बढाउन यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेका थिए।