नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरूमा कोषहरूको उपयोग हुन नसकेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित नागरिक लगानी कोषको ३५औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउन आम जनतालाई सन्देश दिन खाँचो रहेको भन्दै कोषहरूको उपयोग गर्न नसकिएको बताए।
उनले भने,‘रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरू आम जनतालाई सन्देश दिनुपर्ने त्यतिकै खाँचो छ। तर हामीसँग भएको कोषहरूको उपयोग गर्न सकिएको छैन।’
साथै उनले कोषहरूलाई विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सृजना गर्ने क्षेत्रमा जाने हिसाबले अगाडि जान आग्रह गरे।
त्यस्तै नागरिक लगानी कोषका अध्यक्ष सूर्य बहादुर थापाले देशमा आर्थिक क्षेत्रमा टेवा पुर्याउने एवम् रोजगारी सृजना गर्न कृषि, पर्यटन, ऊर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने आवश्यक देखिएको बताए।
उनले भने,‘भोलिका दिनमा देशमा आर्थिक क्षेत्रमा टेवा पुर्याउने एवम् रोजगारी सृजना गर्न कृषि पर्यटन ऊर्जा, भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने देखिएको छ।’
कोष स्थापना देखिनै निरन्तर नाफामा सञ्चालन भइरहनु प्रत्येक वर्ष सहभागी सङ्ख्या वृद्धि हुनु नै कोषको सफलताको आधार भएको उनको भनाइ छ।
सोही कार्यक्रममा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले कोषको लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिनुपर्ने बताएका छन्।
उनले भने, ‘नागरिकको बचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरू अघि बढाउनमा कोषको प्राथमिकता र यसको लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन थप मार्ग निर्देश एवम् प्रेरणा दिनेमा विश्वास व्यक्त गर्न चाहन्छु।’
यसका साथै, नागरिक लगानी कोषले नागरिकको हितमा बढी काम गर्नुपर्ने भएकाले गम्भीर हुनुपर्ने बताए।