राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा कार्कीले केही दिन यता देशभरि भइरहेका डरलाग्दा घटनाहरूले सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठ्न थालेको बताएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फागुन २४ गतेदेखि चैत ३ गतेसम्म नौ दिनमा काठमाडौँको शान्ति नगर, कालिगण्डकी नदी, गोकर्णेश्वरको बागमती खोला र देशका विभिन्न भागमा १५ जनाको सव फेला परेको समाचारहरू आएकाले सुरक्षा निकाय नाजुक किन बनेको भन्दै प्रश्न गरेकी हुन्।
उनले भनिन्, ‘केही दिनयता देशभरि भइरहेका डरलाग्दा घटनाहरूले हाम्रो सुरक्षा व्यवस्थाको गम्भीर कमजोरीलाई उजागर गरिरहेको छ। यही फागुन २४ गतेदेखि चैत ३ गतेसम्म नौ दिनमा काठमाडौँको शान्तिनगरमा, कालिगण्डकी नदीमा, गोकर्णेश्वरको बागमती खोलामा र देशका विभिन्न भागमा १५ जनाको सव फेला परेको समाचारहरू बाहिरिएको छ। धनुषामा पनि हत्याका विभत्स घटनाहरू अगाडि आएका छन्। प्रहरी हवल्दारकै ज्यान गएको देखिन्छ। यस्ता घटनाहरूले सरकारको उपेक्षा, कमजोर सुरक्षा व्यवस्था र आपतकालिन तयारीको कमीको संकेत गरिरहेको छ। यस्ता घटनाहरूले राष्ट्रिय चिन्ताको विषय उत्पन्न गरेको छ। हामीले कानुनी प्रवद्धनमा ढिलासुस्ती, अनुसन्धानमा कमजोरी रहेका कुरा र कार्यस्थलमा सुरक्षाका मापदण्ड अभाव भएका कुराले धेरै गम्भीर बनाएको छ। आर्थिक वर्ष २०७९÷८० मा ५०१ जनाको हत्या भएको देखिन्छ। त्यसको मतलब हरेक तीन दिनमा पाँच जनाको मृत्यु भइरहेको अवस्था छ।’
साथै उनले हरेक तीन दिनमा विभत्स पाँच जनाको हत्या भइरहेको बताइन्। उनले यस्ता घटनाहरूले राष्ट्रिय चिन्ताको विषय उत्पन्न गरेको समेत बताइन्।