प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सिभिल अस्पतालको डाइरेक्टरमा मेरिट लिस्टको एक नम्बरमा रहेका प्रमोद यादवलाई नियुक्ति नदिइएर तीन नम्बरमा रहेका व्यक्तिलाई नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका छन्। 
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मधेसी भएकै कारण प्रमोद यादवलाई सरकारले विभेद गरेको आरोप लगाएका हुन्।
उनले भने, ‘भर्खर अहिले सिभिल हस्पिटलको डाइरेक्टरको नियुक्ति भएको छ। त्यहाँ पनि तीन नम्बरको मान्छेलाई गरियो। सिफारिस हुँदा मेरिट लिस्टको एक नम्बरमा प्रमोद यादव थिए। मधेसी भएको कारणले त्यहाँ नियुक्ति भएन। सरकारले के बुझेको छ ? मधेसी, जनजाति, दलित, महिला के भिख माग्नका लागि यो देशमा बसेको हो ?’
साथै, सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी ड्राफ्ट गरेको कानुनको उनले विरोध गरे। उनले पदबाट बाहिरिइसकेपछि पनि जनतालाई ऋणको मारमा पारेर उनीहरूलाई सुविधा दिन नहुने बताए।
उनले भने, ‘पूर्वविशिष्टको सुविधाको कुरा छ। पदमा हुँदा लुट्ने, ठुला–ठुला काण्ड गर्ने, एनसेलदेखि लिएर वाइटवडी काण्ड गर्ने। रिटायर्ड भएर पनि जनताको लुट्ने ? त्यो मिल्दैन। जनता ऋणको मारमा जाने, पूर्वविशिष्टहरू पदमा जाँदा पनि लुट्ने, रिटायर्ड भएर पनि लुट्ने। यो बन्द हुनुपर्छ।’