नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले अहिलेको सरकारले गर्नुपर्ने काम नगरेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ नभएको आरोप लगाएका हुन्।
उनले भने, ‘सरकारले यति बेला गर्नुपर्ने काम गरिहरेको छैन। सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतर्फ छैन। यति बेला भूकम्प प्रभावित क्षेत्रका जनताहरूले राहत पाएका छैनन्। बाढी पीडितहरूले राहत पाएका छैनन्। पुनः निर्माणका कामहरू भइरहेका छैनन्। भ्रष्टाचार व्याप्त छ, आर्थिक अवस्था जर्जर छ। निर्माण व्यवसायीले काम गरेको भुक्तानी पाएका छैनन्। अर्थतन्त्र अत्यन्त सङ्कटपूर्ण अवस्थामा छ सरकार टुलुटुलु हेरेर बसेको छ।’
साथै उनले राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको भन्दै यसबाट सरकार पछि फर्कन सुझाएका छन्। पूर्वविशिष्टहरुलाई दिइएको मनोमानी सुविधा पनि रोकिनु पर्ने उनको सुझाव छ।
उनले सांसदहरूकै सुविधा घटाउन तयार हुनुपर्ने प्रस्ताव राखे। उनले अहिलेका विशिष्ट पदाधिकारीहरूको समेत सुविधा घटाउनुपर्ने बताए।