चलचित्र ‘राजगंज’को विहीवार साँझ प्रिमियर गरिएको छ। काठमाडौँको बिग मुमीज्मा बुधवार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै राजनीतिकर्मीहरूको पनि उपस्थिति थियो।
प्रिमियरमा पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चलचित्रको अंश काटिदा चलचित्रमाथि अन्याय भएको बताए। 
‘मलाई दुःख के लाग्यो भने फिल्मका केही महत्त्वपूर्ण अंशहरू काटिएको छ भन्ने सुने। कति काटिएको हो यदि मुख्य अंश काटिदा फिल्मको टाउकै काटिए जस्तो हुन्छ। त्यसो गर्नु उपयुक्त हुँदैन। हाम्रो संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ। मेहनत गरेर बनाएको फिल्मको आधारभूत पक्ष नै काटियो भने फिल्म माथि नै अन्याय हुन्छ। त्यस हिसाबले पनि बेठिक हुन्छ।’ 
यस्तै, चलचित्र हेर्न पुगेकी कलाकार केकी अधिकारीले मधेसको कथा बोकेको चलचित्र शक्तिशाली रहेको बताइन्। 
उनले भनिन्‘ चलचित्र सशक्त माध्यम हो। जहाँ लुकेर रहेको विभेदहरूलाई देखाउन सकिन्छ। यसको बलियो प्रस्तुतिले चलचित्रमार्फत समाज यस्तो हुन सक्छ भन्ने उदाहरण पनि दिन सक्छ। धेरै महिला कलाकार भएको कमै देखिन्छ। यो खालको चलचित्र बनाइनुपर्छ।’ 
कलाकार नाजिर हुसेनले विभेद जहाँ पनि हुने गरेको भन्दै त्यसको अन्त्यका लागि चलचित्र बनेको बताए। उनले कला स्वतन्त्र हुने भन्दै चलचित्रमा सेन्सर लगाउँदा कला मर्न जाने पनि बताए। 
नायिका ऋचा शर्माले राम्रो प्रतिक्रिया पाउँदा खुसी लागेको बताइन्। निर्देशक दीपक रौनियारले सिनेमा सेन्सर झमेलामा केही दुःख लागे पनि अहिले प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुसी मिलेको बताए।
आफूले देखाउन खोजेको सबै कुरा दर्शकलाई शुक्रबारबाट देखाउन नपाउने हुँदा केही दुःख त अवश्य लाग्छ। तर, हामीले जे जति देखाएका छौँ दर्शकलाई मन पर्छ होला भन्ने अपेक्षा छ। 
विशेष गरी चलचित्र बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेसी दलहरूलाई ‘रुखबाट झरेका दुई–तीन टा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको हो। त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको थियो। 
बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै रोक लगाएपछि निर्माताले पुनः सेन्सरका लागि आवेदन दिएका थिए। बोर्डले राखेका सबै सर्तहरू पूरा गरेपछि फिल्मले ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको थियो।
चलचित्रमा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ।