औरही गाउँपालिका ५ मा क्याम्पस सञ्चालन गर्ने भन्दै आयोजना गर्न लागिएको महायज्ञका नाममा ठुलो रकम उठेको छ । तर उक्त रकम अनियमितता हुने गरेको बताइएको छ। 
चन्दामा उठेको रकम राख्न एनएमबी बैङ्क औरही शाखामा खाता खोलेको छ। खाता गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमतका नेता दिलिप यादवको नाममा छ। तर उक्त खातामा अहिलेसम्म रकम जम्मा गरिएको छैन।
महायज्ञको नाममा करिब १५ दिनदेखि चन्दा सङ्कलन गरिँदै छ। गाउँपालिका अध्यक्ष शिवजी यादवले करिब १५ लाख चन्दा सङ्कलन भएको स्वीकारे। तर बैंकमा रकम जम्मा नगरिएकाले अनियमितता हुने स्थानीयको आशङ्का छ।
एनएमबी बैङ्क औरही शाखाका म्यानेजर रविन्द्र यादवले शिवजी र दिलिपको नाममा खाता खोलिएको तर उक्त खातामा अहिलेसम्म रकम जम्मा नभएको पुष्टि गरे। उनले भने, ‘दुई जनाको व्यक्तिगत बचत खाता रहेको छ। त्यसैले रकम जम्मा भएमा कति जम्मा भएको कुरा भन्न मिल्दैन। अहिले रकम नै जम्मा भएको छैन।’
महायज्ञका लागि समिति बनाइएको छ। तर गाउँपालिका अध्यक्ष र जनमतका नेता दिलिपले कति रकम उठाएकोबारे समितिमा रहेको कसैलाई थाहा छैन।
गाउँपालिका अध्यक्ष र जनमतका नेता दिलिपले चन्दा उठाउन जाने बेलामा कसैलाई सोधखोज नगर्ने गरेकाले पनि उनीहरू रकम अनियमितता गर्ने शङ्का बढेको छ।