युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ। नेपालले घरेलु टोली युगाण्डालाई १ विकेटले हराएको हो।
युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सना प्रवीनले १७ तथा पुजा महतोले १६ रन बनाइन्।
कुनै समय ३९-२ को अवस्थामा रहेको नेपालले त्यसपछि ५०-४, ५६-५, ६८-६, ६९-७, ६९-८ हुँदै ६९ रनमै ९ विकेट गुमाएको थियो। अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा रिया शर्मा र ईश्वरी विष्टले रन जोड्दै जित दिलाए।
युगाण्डाका लागि कप्तान जानेत बाबजीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् भने सारा वालाजाले २ विकेट लिइन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले नेपालसामू ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। युगाण्डाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको हो।
नेपालका लागि पुजा महतोले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिइन्। कप्तान इन्दु बर्माले ४ ओभरमा ८ रन दिएर २ विकेट लिइन्।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो।