पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौँ फर्किँदा राजावादी दल र समूहहरूले उनको स्वागतमा प्रदर्शन गर्दै छन्। उनीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौँमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।
आज बिहानैदेखि काठमाडौँको नारायणहिटी दरबार सङ्ग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला लगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक सञ्जय बहादुर राउतले बताए।
नेपाल न्यूज बैंकलाई जानकारी दिँदै उनले भने, ‘आज पोखराबाट पूर्व राजा आउँदै हुनुहुन्छ। बिहानैदेखि काठमाडौँको नारायणहिटी दरबार सङ्ग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला, महाराजगञ्ज लगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरू परिचालन छन्। आवश्यकता अनुसार सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौँ।’
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौँ आउँदै छन्। उनको स्वागतका लागि राजावादीहरू काठमाडौँका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन्।