नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने नाराका साथ प्रदेश स्तरीय अभियान आयोजना गर्ने भएको छ।
मङ्गलवार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आमजन मानसमा नेपाली कांग्रेसले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनबारे तथ्यगत जानकारी दिने उद्देश्यले सातै वटा प्रदेशका राजधानीमा प्रदेश स्तरीय अभियान आयोजना गर्न लागेको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका सचिव गोपाल झाले जानकारी गराए।
अभियान यही फागुन ९ गते कोशी प्रदेशको विराटनगर, १० गते मधेस प्रदेशको जनकपुर, १७ गते गण्डकीको पोखरा, १८ गते लुम्बिनीको बुटवल, २० गते कर्णालीको सुर्खेत र २१ गते सुदूर पश्चिमको धनगढीमा आयोजना हुन लागेको छ।
यस कार्यक्रममा नेपाली काँग्रेसका सम्बन्धित प्रदेशका केन्द्रीय पदाधिकारी सदस्यहरू प्रदेश कार्य समितिका पदाधिकारी सदस्यहरू, प्रदेश सभाका सदस्यहरू, जिल्ला कार्य समितिका पदाधिकारी तथा प्रचार विभागका प्रमुख एवं प्रवक्ताहरू क्षेत्रीय कार्य समितिका पदाधिकारी सदस्यहरू र भ्रातृ तथा शुभेच्छुक सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू र प्रेस युनियनलगायत विभिन्न सञ्चार कर्ममा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहने छ भने यसमा दुई वटा कार्यपत्र प्रस्तुत हुनेछ।