रौतहटको ग्रामीण भेगमा सीमावर्ती नाकाबाट कुखुराको चल्ला तस्करी बढेपछि प्रहरीले निगरानी बढाएको छ। भारतीय कुखुराको चल्ला वैधानिक तरिकाले ल्याउँदा प्रक्रिया झन्झटिलो हुने भएकाले सीमा क्षेत्रमा अवैध कारोबारमा वृद्धि भएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको हो।
यही क्रममा रौतहट प्रहरीले सीमावर्ती नाका भारतबाट भन्सार छली गरेर अवैध रूपमा नेपाल ल्याइएको ब्रोइलर कुखुराको चल्लालाई बरामद गरी नष्ट गरेको छ। प्रहरी चौकी मौतिपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार बरामद गरी मङ्गलवार बिहान नष्ट गरेको हो।
भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको १ हजार ४ सय थान कुखुराको चल्लाहरू खाल्डो खनेर पुरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दीपक कुमार रायले बताए।
सिमावती क्षेत्रमा कडाइ गरेपछि कुखुरा र कुखुराका चल्ला बरामद हुन थालेको उनले बताए। भारतबाट नेपालमा वैधानिक तरिकाले कुखुरा ल्याउँदा क्वारेन्टाईनमा परीक्षण गरी स्वस्थ रहेमा मात्र ल्याउन पाउने नियम छ।
भारतीय बजारबाट कुखुरा सजिलै ल्याउन नपाएपनि तस्करी गरेर ल्याउने गरेकाले मर्कामा परेको नेपालका कुखुरा पालक कृषकहरू बताउँछन्। भारतीय बजारबाट नै कुखुरा ल्याएर रौतहटका विभिन्न बजारमा बिक्री हुने गरेकाले यहाँ उत्पादन गरिएको कुखुरा बिक्री हुन नपाएको गुनासो कृषकको छ। नेपाल भन्दा भारतीय बजारमा कुखुरा सस्तो पर्छ। नेपाल–भारतको खुल्ला सिमनाका कारण रौतहटका कृषकले उत्पादन गरेका कुखुराले बजार पाउन सकेको छैन।