भारतको अडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा मृतक प्रकृति लम्सालको पिता सुनिल लम्सालले ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको बताएका छन्।
मङ्गलवार घटनास्थल पुगेका लम्सालले भारतीय मिडियासँगको कुराकानीमा ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको भन्दै मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न आग्रह गरे।
उनले भने,‘यहाँको प्रशासनले अनुसन्धान त गरिरहेको छ। पोष्ट मार्टमको रिपोर्ट पनि आउन बाँकी छ। सूचना पाएको छौँ कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा उसले सुसाइड गरेको हो। बाँकी हामीलाई केही थाहा छैन।’
उनले त्यहाँको कानुनी प्रक्रिया सकेर छोरीको शव सके आज नसके भोलिसम्म नेपाल लैजाने जानकारी दिए।
‘लिएर त जानै छ। हेरौँ के हुन्छ। तर प्रोसिडियर हुन्छ। एउटा देशबाट अर्को देश लाने कुरा हो। सकेसम्म आज भए आज नभए भोलि लैजाने छौँ। हाम्रो माग भनेको न्याय हो अरू केही छैन, मात्र न्याय हो।’
यस्तै, उनले घटनापछि नेपाली विद्यार्थीलाई कलेजले ज्यादती गरेर सही नगरेको पनि बताए। आफू आएपछि सोमबार युनिभर्सिटीसँग कुरा भएको र राम्रो समन्वय गरिरहेको उनले बताए जानकारी दिए।