रौतहटमा दुई चरणमा सञ्चालन गरिएको एचपीभी खोप अभियान अन्तरगत पहिलो चरण सकिएको छ।
पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र ईशनाथ नगरपालिकामा माघ २९ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो।
अब दोस्रो चरणमा माघ ३० गते देखि फागुन ६ सम्म गौर, राजदेवी, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिका तथा दुर्गा भगवती, यमुनामाई गाउँपालिकामा एचपीभी खोप किशोरीलाई लगाइने कार्य भइरहेको जिल्ला जनस्वस्थ कार्यालय गौरका खोप निरीक्षक एवम् फोकल पर्सन अनिल कर्णले बताए। उनका पहिलो चरणमा सञ्चालन गरिएको खोप अभियानमा ९० प्रतिशत लक्ष्य दिइएकोमा शतप्रतिशत लक्ष्य पुरा गरेको हो।
दोस्रो चरणमा पनि पूर्ण रूपमा शतप्रतिशत सफल हुनेमा आफू आशावादी रहेको कर्णको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार फतुवा विजयपुर नगरपालिकामा २ हजार ३ सय ८९, मौलापुर नगरपालिकामा २ हजार ४ सय ७४,गढीमाई नगरपालिकामा २ हजार ९ सय ९७,कटहरिया नगरपालिकामा २ हजार ४ सय १३ जना किशोरीहरूलाई खोप लगाउने लक्ष्य लिइएकोमा पुरा भएको छ।
त्यस्तै देवाहीगोनाही नगरपालिकाले २ हजार ७ सय २५, राजपुर नगरपालिकाले ३ हजार ७१, ईशनाथ नगरपालिकाले २ हजार ६ सय २७ जनालाई एचपिभी खोप लगाएको हो।
त्यसैगरी बौधीमाइ नगरपालिकाले भने लक्ष्य भन्दा बढिलाई खोप लगाएको देखिएको छ। सो नगरपालिकालाई २ हजार ३२ लक्ष्य दिइएकोमा २ हजार ३ सय ८२ जना अर्थात् १२२.२२ प्रतिशत पुरा गरेको छ। विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन एचपीभी खोप निःशुल्क लगाउँदै आएको छ। जिल्लाको सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेका १० हजार भन्दा बढी गरेर ४९ हजार २६९ जना छात्रालाई एचपीभी खोप लगाउने लक्ष्य जिल्ला जनस्वस्थ कार्यालय गौरले लिएको छ।