बेलबारीमा एक महिलाले ६ महिनाकी छोरीसहित पोखरीमा हामफालेकी छन्।

बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी छोरी काव्या यादवसहित शुक्रबार साँझ ७ः३० बजेतिर माछा पोखरीमा हामफालेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीका अनुसार प्रीतिले नाबालिका छोरीसहित घरदेखि करिब १ किलोमिटर उत्तरमा रहेको माछा पोखरीमा हामफालेकी हुन्।

उक्त पोखरी स्थानीय पनैलाल चौधरीको हो। हामफालेको देखेपछि स्थानीयले पोखरीबाट उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा पठाएको थियो। अस्पताल पुर्याउनसाथ राति ८ः३० बजेतिर शिशुलाई चिकित्सकले मृत घोषित गरिदिएका थिए भने आमाको पनि अवस्था गम्भीर रहेको र आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

शिशुसहित आमाले पोखरीमा हामफाल्नुपर्ने कारण पत्ता लागेको छैन। शिशु अवस्थाकी छोरीसहित पत्नीले पोखरीमा हामफाल्दा पति गंगाराम भने घरमा थिएनन्। उनी दूध पुर्याउन बजार गएको पाइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।