मकवानपुरको बागमती गाउँपालिका शनिवारबाट सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदै छ।
मकवानपुरको बागमती गाउँपालिका झुर झुरे स्थित सहिद स्मृति रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मोफसलको बागमती युथ क्लब सर्लाही र बागमती गाउँपालिका खेलकुद विकास समिति भिड्ने भएका छन्।
प्रतियोगितामा ए डिभिजनको डिफेन्डिङ च्याम्पियन मछिन्द्र सहित सङ्कटा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, एफिएफ क्लब र चर्च व्वाई क्लबको सहभागिता रहने छ भने आयोजक सहित मोफसलको थप तीन क्लबहरुलो सहभागिता रहनेछ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख, उपविजेताले नगद ५ लाख सहित ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद २५ हजारको दरले नगद प्राप्त गर्नेछन्। प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्नको लागि आयोजकले ७३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। उक्त खर्च व्यवस्थापनको लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने बाकी रकम आयोजक समितिले व्यवस्थापन गर्नेछ।