धनुषाको मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा आयोजित विशाल भण्डारामा करिब पाँच लाख अनुयायी एवम् शुभेच्छुकहरूले प्रसाद (भोजन) ग्रहण गरेका छन्। तीन दिनसम्म चलेको भण्डारामा पाँच लाख बढी मानिसहरूले अवलोकन गरेको आयोजकको दाबी छ।
जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजकीका अनुयायीहरुको संस्था पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ गतेदेखि २६ गते तीन दिनसम्म कबीरजीको ५०७ औँ निर्वाण दिवस एवम् तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा आयोजना गरिएको थियो।
समारोहमा दाइजोविरुद्धको अभियानका क्रममा १२ जोडीले सामूहिक विवाह गरेका थिए। समारोहमा नेपाल र भारतका अनुयायी एवम् शुभेच्छुकहरू जम्मा भएका हुन्।
समाजलाई दाइजोमुक्त बनाउने संत रामपालजी अभियान अन्तर्गत सतलोक आश्रममा १२ नव जोडीहरूको दाइजो रहित सामूहिक विवाह गराइएको हो। आश्रममा तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रमको दोस्रो दिन विभिन्न समाज सुधारका कार्यक्रमहरू भएका थिए।
समाज सुधारक सन्त रामपालजीका अनुयायीहरूले हरेक वर्ष कबीर साहेब निर्वाण दिवस मनाउने गर्छन्। सो सिलसिलामा सन्त गरिबदासजी महाराजद्वारा रचित अमर ग्रन्थ साहेबको अखण्ड पाठ गरी दाइजो तथा आडम्बरमुक्त विवाह गर्ने चलन रहेको अनुयायी ओमराज ढकालले जानकारी दिए।
उक्त सामूहिक विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन भएको छैन भने बेहुला वा बेहुली दुवै पक्षको कुनै पनि खर्च नभएको, आगन्तुकहरूलाई खाने तथा बस्ने व्यवस्था आश्रमकै तर्फबाट विशाल भन्डारामा गरिएको ढकालले बताए।
समारोहमा १७ मिनेटको गुरु वाणीद्वारा ३३ करोड देवीदेवताहरुको स्तुति गरी तीनै देवीदेवताहरुको साक्षी राखेर दाइजोरहित विवाह भएको उनले बताए। विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदी सेवन गर्न पूर्ण रूपमा निषेधित गरिने गरिएको पनि ढकालले जानकारी दिए।
समाजबाट दाइजो कुप्रथालाई समाप्त पार्न रामपालजीको दाइजोमुक्त समाज अभियान अन्तर्गत विवाह गराइएको जानकारी आयोजकले दिएको हो। यस्ता विवाहले समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको र समाज परिवर्तित भइरहेको आयोजक समितिका संयोजक कुमार दासले जानकारी गराए। सो अवसरमा अनुयायीहरूले नेपाल रेडक्रस सोसाइटीलाई ६३ युनिट रक्तदान पनि गरेका थिए।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत विशिष्ट व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधि, कर्मचारीहरू, डाक्टर तथा इन्जिनियर साथै अनुयायीहरुको उपस्थिति थियो। सो अवसरमा आध्यात्मिक प्रदर्शनीहरूको पनि आयोजना गरिएको थियो।
आश्रमको व्यवस्था तथा सन्त रामपालजी महाराजद्वारा बनाइएको भक्ति मर्यादा र अनुशासनको आगन्तुकहरूले प्रशंसा गरेका थिए। विशाल भण्डारामा शुद्ध घ्युबाट तयार गरिएको बुनियाँ तथा हलुवा प्रसादका साथै रोटी, पूरी, सब्जी, सलाद, दाल, भात, अचार आदीको व्यवस्था गरिएको थियो। अन्तिम दिन दिन भोग आरती र सत्संग गरी कार्यक्रम सम्पन्न भएको छ।